कांग्रेसबारे गठबन्धनका वाम नेताहरुलाई शंकर पोखरेलको प्रश्नै प्रश्न, लज्जित हुने अवस्था आउने दाबी

Rojjan Raj Pandey १३ असार २०७९, सोमवार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धन गरेर समाजवादमा पुग्न नसकिने बताएका छन्।

‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले यात्रा कांग्रेस गठबन्धनको गर्ने र उद्देश्य समाजवादको लिनु उपयुक्त नभएको बताएका हुन्।

‘गठबन्धन सत्ता प्राप्तिको उद्देश्यमा छ। समाजवादमा होइन। कि त गठबन्धनका वाम दलहरुले नेपाली कांग्रेसलाई समाजवादी पार्टी मान्नुपर्‍यो। होइन भने गठबन्धनको उद्देश्‍य समाजवादी हो भन्ने मान्न सकिँदैन,’ उनले भने।  

महासचिव पोखरेलेल भने, ‘नेपाली कांग्रेस बुर्जुवा शक्तिको पार्टीको भन्छौं भने गठबन्धन समाजवादका लागि बाधक हो भन्ने बुझ्नुपर्छ। प्रतिक्रियावादी समान्तको हितमा सञ्चालित राजतन्त्र फाल्न नेपाली कांग्रेससँगको सहकार्य प्रशंसनीय छ। तर समाजवादको हकमा कांग्रेससँग सहकार्य मिल्दैन।’

महासचिव पोखरेलले नेपालका राजनीतिक दलहरु प्रतिक्रियावादी शक्तिविरुद्धको संघर्षमा च्याम्पियन भएको तर देश निर्माणको अभियानमा च्याम्पियन हुन नसकेको बताए।

समाजवादमा जान उत्पादन सम्बन्धमा परिवर्तन र दलको नेतृत्वमा परिवर्तन हुनुपर्नेमा पोखरेलले जोड दिए। ‘नेपाली कांग्रेसले जितेमा समाज बुर्जुवातर्फ जानसक्छ। वामपन्थीले जितेमात्र समाजवादतर्फको यात्रामा जान्छ। बलियो अर्थतन्त्रको जगमा मात्रै समाजवाद निर्माण हुनसक्छ,’ उनले भने।

एमालेप्रति गठबन्धनको घृणाको राजनीति रहेको भन्दै गठबन्धन सही बाटोमा छ कि छैन भनेर आफै समीक्षा गर्ने बेला आएको बताए। ‘देश बनाउने हो भने समस्याभित्र पस्नुपर्छ। को सत्तामा जाने भन्ने प्रतिस्पर्धाले बन्दैन,’ उनले भने, ‘सत्ताबाट सत्ताको गोलचक्करबाट समाजवाद निर्माण हुन सक्दैन। राष्ट्र निर्माण हुन सक्दैन। सत्ताको भर्‍याङका लागि समाजवादीको नारा प्रयोग नगरौं।’  

उनले अहिले जे आधारमा घृणाको राजनीति भएको छ, केही समयपछि लज्जित हुने अवस्था आउने दाबी गरे।annapurnapost

लोकप्रिय